रैथाने बालीको सम्भावना

बाजुरा, २४ भदौ । मानव विकास सूचकांकमा पुछारमा रहेको जिल्ला लामो समयदेखि खाद्य असुरक्षित रहँदै आएको छ ।

पाँच वर्षमुनिका बालबालिका कुपोषित हुने दर पनि अन्य जिल्लाको भन्दा उच्च छ । भौगोलिक विकटता र दुर्गमले गाँजेको जिल्ला सामाजिक आर्थिक विकासका सूचक र चेतनाको दृष्टिले पनि देशका अन्य भागभन्दा पछि छ ।

जिल्लाको खाद्य तथा पोषण सुरक्षाको अवस्था सुधारका लागि जिल्ला कृषि विकास कार्यालयले दुईखम्बे रणनीति लिएको वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताउनुभयो । उहाँले प्रमुख खाद्यान्न बाली गहुँ, धान र मकैका साथै आलु बालीको उत्पादकत्व वृद्धि गरी खाद्य संकट हुन नदिन खाद्य सुरक्षाका लागि बीउको सुरक्षा अभियान र बीउ आलु आत्मनिर्भर अभियान चलाइएको जानकारी दिनुभयो ।

विगतमा जिल्लाको खाद्य एवं पोषण सुरक्षाको मुख्य आधारका रुपमा कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे आदि थिए । स्थानीयवासीको खानेबानीमा परिवर्तन आई भातमुखीे हुनाका साथै बजारमा चामलको सहज उपलब्धता बढेपछि पछिल्ला वर्षमा यी बाली लगाउने क्रम निकै घट्न गएको अनुभव श्रेष्ठले सुनाउनुभयो । यसले गर्दा भविष्यमा जिल्लामा खाद्य संकट निम्तिन सक्ने अवस्था टड्कारो देखिएको छ । यसै तथ्यलाई दृष्टिगत गरी दीर्घकालीन रुपमा खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालयले स्थानीय एवं रैथाने बालीको संरक्षण र प्रवद्र्धनको अभियान शुरु गरेको छ ।

चामलको तुलनामा कोदो, फापर, जौ, चिनो, कागुनो, लट्टे आदिका दाना एवं पीठोमा प्रायः सबैखाले पोषक तत्व बढी पाइने भएकाले ती बालीका परिकार भातभन्दा बढी स्वास्थ्यवद्र्धक र पोषिलो हुनाका साथै चामल आयात र परनिर्भरता घटाउन सकिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा श्रेष्ठ बताउनुहुन्छ । कार्यालयले अभियान चलाइएपछि हाल त्यस्ता बालीको खेती गर्ने क्रम बढेको छ । लामो समयदेखि बाँझो रहेको पाखो जग्गामा समेत फापरलगायत बालीको पुनःखेती शुरु भएको पाइएको छ ।

सदरमुकामका एक होटल व्यवसायी नृपबहादुर सिंहले नियमित रुपमा फापर, कोदो, कागुनो र लट्टेको परिकार बनाई बिक्री गर्ने गरेका छन् । रैथाने बालीको परिकार बनाउने तालीम लिएपछि सिंहले गत वर्ष कञ्चनपुरमा आयोजित दशौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा सहभागी भई परिकार विधामा प्रथम स्थान हासिल गरेका थिए ।

सुदूरपश्चिमकै रैथाने बालीका परिकार बनाउनमा कृषि विकास कार्यालयको सहयोग रहेको छ । अभियानको प्रभावस्वरुप सदरमुकामलगायत बजार र गाउँघरमा समेत स्थानीय खाद्यान्नका नयाँ परिकार उपभोग गर्ने क्रम बढेको छ ।

पछिल्लो समय मार्तडीमा आयोजना गरिने तालीम, गोष्ठी, सभा, समारोह र बैठक तथा कतिपय कार्यालयमा समेत खाजाका रुपमा बाहिरबाट ल्याइएका खाजाभन्दा स्थानीय रैथाने परिकार उपभोग भएको छ ।

कार्यालयको सहयोगमा लगनशील कृषक समूहको व्यवस्थापनमा स्थानीय एवं रैथाने कृषि उपज बिक्री केन्द्र स्थापना गरी सफलतापूर्वक सञ्चालन भइरहेको छ । बाहिरी जिल्लाबाट आउने पाहुनाले स्थानीय फापर र कोदोको पिठो, जौको सातु, चिनो, कागुनो, सिमी आदि बिक्री केन्द्रबाट खरिद गरी कोसेलीका रुपमा लैजाने गरेको श्रेष्ठले बताउनुभयो ।

रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि अभियान शुरु भएपछि फापरलगायत स्थानीय एवं रैथाने बाली खेती गर्ने क्रम बढेसँगै उत्पादनको गुणस्तर कायम गर्नु र बजार व्यवस्था गर्नु भने चुनौतीपूर्ण रहेको प्रमुख डा श्रेष्ठ बताउनुहुन्छ । अभियानलाई अझै फैलाउन निकट भविष्यमा विद्यालय पोषण शिक्षा कार्यक्रम सञ्चालन एवं सहजीकरण र फापर, कोदो आदि प्रयोग गरी पाउरोटी, चाउमिन आदि थप परिकार बनाउन सिकाउनाका साथै अन्न तथा पीठोलाई काठमाडौँलगायत शहरका सुपर मार्केट र अन्य बजारमा बिक्रीका लागि सहजीकरण गरिने योजना उहाँले सुनाउनुभयो । प्रेम रौले/रासस

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...