अदुवामा रोग लागेपछि किसान चिन्तित

तेह्रथुम । जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि किसान चिन्तित भएका छन् । जिल्लामा मुख्य नगदेबालीका रुपमा खेती भइरहेको अदुवाको माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको हो ।

अदुवामा गानो कुहिने, गबारो र बेरुवाको संक्रमण देखापरेको किसानले बताएका छन् । शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोटै मरेर जाने गरेको छ । केही क्षेत्रका किसानले लगाएको अदुवामा भने गबारो र बेरुवाको संक्रमण छ । अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा बढी हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ ।

फेदाप, आठराई र छथर गाउँपालिकाका किसानले लगाएको अदुवामा रोगको संक्रमण देखिएको छ । साउन र भदौमा अदुवाको माउ झिकेको र माउ झिकिसकेपछि गानो कुहिने रोगको संक्रमण देखापरेको फेदाप गाउँपालिका–१, सिम्लेका किसान तेजनाथ भट्टराईले बताउनुभयो ।

“अदुवाको बोट हरियो हुँदै जाँदा गानो कुहिने गर्छ, अनि बिस्तारै पहेँलो भएर अदुवाको बोटै मर्छ”, उहाँले भन्नुभयो ।

खनेर बजारमा पु¥याउने बेलामा अदुवामा रोग लागेपछि किसान मारमा परेका छन् । फेदाप गाउँपालिकाका सबै वडामा अधिकांश किसानले अदुवाको खेती लगाएका छन् । सिम्ले, जलजले, ओयाक्जुङ र इसिवुमा अदुवाको व्यावसायिक खेती भइरहेको छ ।

आठराई गाउँपालिकाको थोक्लुङ, सक्रान्ति, छातेढुंगा र इवामा अदुवाको व्यावसायिक खेती शुरु भएको छ । “साउनको अन्तिम साताबाटै गाना कुहिने रोग देखा प¥यो”, आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सिनाले भन्नुभयो, “अदुवा बारीमा नै सकिन लाग्यो, एग्रोभेटबाट ल्याएको औषधिले पनि काम गरेन ।”

यहाँका अधिकांश किसानले लगाएको अदुवामा रोगको संक्रमण देखिएको छ । गतवर्ष पनि यहाँका किसानले लगाएको अदुवा रोगले सखाप पारेको थियो । कृषि प्राविधिकका लागि माग गरे पनि सुनवाइ नभएको किसानको गुनासो छ । पानी परेर घाम लाग्दा र माउ झिकेपछि अदुवा मर्न थालेको आठराई गाउँपालिका–५ छातेढुंगाका सोमनाथ आचार्यले बताउनुभयो ।

“मकै कोदोभन्दा फाइदा हुने देखेर अदुवाको खेती थालियो, तर यसमा झन धेरै दुःख छ,” उहाँले भन्नुभयो ।

आम्दानी मनग्य हुने देखिए पनि अदुवाको खेतीदेखि बजारसम्म पु¥याउन निकै सकस हुने गर्छ । “खेती थाल्दैदेखि ध्यान दिनुपर्छ, माटो बनाएर मल पु¥याएर खेती नलगाए रोगले झनै सखाप पार्छ”, आचार्यले भन्नुभयो । विगतभन्दा यस वर्ष रोगको संक्रमण बढी देखा परेको छ । गत वर्ष पनि यस्तै रोगको संक्रमण देखापरेको थियो ।

“समस्या राख्दा कसैले चासो दिँदैन, प्राविधिक पनि आउँदैनन्, अन्दाजका भरमा किनेको औषधिले काम गर्दैन”, फेदाप गाउँपालिका–१, सिम्ले साक्फाराका कुमार खड्काले भन्नुभयो । खड्काले दुई क्विन्टल अदुवा रोप्नुभएको छ । तर यस वर्ष रोगको संक्रमणका कारण १० क्विन्टलभन्दा बढी उत्पादन नहुने उहाँको भनाइ छ ।

किसानका अनुसार मलखाद मिलाएर रोपे एक क्विन्टल अदुवा रोप्दा आठ गुणाभन्दा बढी उत्पादन हुन्छ । यसपालि खेती लगाएको मध्ये आधाभन्दा बढी अदुवा बारीमै रोगले सखाप पारिसकेको किसानको भनाइ छ । यहाँका किसानले अदुवामा लागेको रोगबारे प्राविधिकको परामर्श बिनै निजी एग्रोभेटबाट विषादी किनेर प्रयोग गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालय यसबारे बेखबर छ । गाउँ–गाउँमा सडकको पहुँच पुगेसँगै किसानले अदुवा खेतीको क्षेत्र बढाएका छन् । विसं २०५२ देखि शुरु भएको अदुवाको पछिल्लो दशकमा व्यावसायिक खेती ह्वात्तै बढेको फेदाप गाउँपालिका–३, जलजलेका दयाराम भट्टराईले बताउनुभयो ।

अहिले जलजले गाउँका करिब ५०० भन्दाबढी घरधुरीले अदुवा खेती गरिरहेका छन् । रोगको संक्रमण कम र मौसममा उचित मूल्य पाए अदुवाबाटै यहाँका अधिकांश घरधुरीले वर्षदिनको हातमुख जोर्ने मेलो जुटाउने गरेका छन् । रोगको संक्रमणमा वृद्धि र मूल्यमा आएको कमीका कारण धेरै किसानले पछिल्लो वर्ष खेतीको क्षेत्रफल घटाएका छन् ।

जिल्लामा नसे र बोसे दुई जातको अदुवाको खेती बढी गरिन्छ । हाल कूल २६० हेक्टर क्षेत्रफलमा अदुवाको खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयकी बागवानी विकास अधिकृत दीपा देवले किसानले अदुवा खेतीको बारेमा जानकारी नै नलिई खेती लगाइरहेकाले समस्या आउने गरेको बताउनुभयो ।

विशेषगरी ढुसीजन्य रोगका कारणले अदुवाको गानो कुहिने हुँदा प्रत्येक वर्ष नयाँ ठाउँमा रोप्दा रोग नलाग्ने उहाँको भनाइ छ । अदुवा रोप्नु अगाडि नै माटो परीक्षण गरेर लगाए पनि यस्तो समस्या नआउने उहाँको सुझाव छ । तर अहिले बाली निकाल्ने बेलामा देखिने रोगको खास उपचार नै छैन ।

– प्रकाश धौलाकोटी /रासस

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...