बेतबाँसका सामग्रीबाट मासिक रु ३० हजार आम्दानी

basssकैलाली, २२ माघ । विगतका दिनमा चुरापोते किन्नका लागिसमेत पतिसँग हात थापेकी लक्ष्मी चौधरी अहिले आफ्नै कमाइबाट पूरा परिवार चलाउनुहुन्छ । धनगढी नगरपालिका–४ उत्तरबेहेडीकी लक्ष्मी चौधरीले सात वर्षयता आफ्नो मात्र होइन घर खर्च आफ्नै कमाइबाट चलाउँदै आउनुभएको हो ।
“पतिको नाममा लगाइने रु दुईको सिन्दुर किन्न पनि उहाँसँग माग्नुपर्दथ्यो” सात वर्ष पहिलेको अवस्था सम्झिँदै लक्ष्मीले रासससँग भन्नुभयो, “तर अहिले आफ्नै कमाइबाट परिवारको आवश्यकता पूरा गर्न पाउँदा खुसी लाग्छ ।”
उहाँले सात वर्ष पहिले बर्दियाको राजापुरमा गएर बेतबाँसका सामग्री बनाउने तीनदिने तालिमलाई व्यवहारमा उतार्दा आफ्नो जीवनमा यति धेरै परिवर्तन आएको बताउनुभयो । तालिमबाट फर्किसकेपछि उहाँले उत्तरबेहेडीमा रहेको आफ्नै घरमा बेतबाँसका सामग्री बनाउन सुरु गरेको बताउनुभयो ।
बेतबाँसका सामग्री बनाउन एक्लैभन्दा समूहमा काम गर्दा सजिलो हुने र विभिन्न संघ संस्थाले सहयोगसमेत गर्ने भएकाले सुरुमा आफूले आफ्नै गाउँका अन्य चार जना महिलासँग मिलेर समूहमा काम गरेको उहाँ बताउनुहुन्छ ।
गाउँमा पाँच जना महिला मिलेर नयाँ सिर्जना समूह खोलेर काम सुरु गरेपछि अहिले काम गर्न सजिलो भएको लक्ष्मीको भनाइ छ । काम गर्न सजिलो भएसँगै समूहमा आबद्ध सबै जनाको आम्दानी समेत बढेको छ ।
सुरुमा घर खर्चमात्र चलेपनि अहिले समूहमा काम गर्न थालेपछि लक्ष्मीलगायत अन्य सबै जनाको मासिक रु ३० हजारसम्म आम्दानी हुन थालेको छ । जिल्ला लघुउद्यमी समूहबाट १२ दिने तालिम लिएर उनीहरुले पाँच वर्षदेखि समूहमा काम गर्दै आएका छन् ।
बेतबाँसबाट कपडा झुन्ड्याउने ह्याङ्गर, कुर्सी, टेबुल, सोफासेट, बस्ने मुढा, चुरा राख्ने स्ट्यान्ड, किताब राख्ने दराज आदि सामग्रीहरु बनाउने गरिन्छ ।
बेतबाँसका सामग्री किन्ने ग्राहक घरमै आइरहेका हुँदा बिक्री गर्नसमेत कुनै समस्या नभएकोसमूहकी सदस्य सरिता चौधरीले बताउनुभयो । आफूहरुले उत्पादन गरेका सामग्री घरबाटै खुद्रामा बेच्नुका साथै धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल, नारायणघाट, काठमाडाँै, पोखरालगायतका प्रमुख सहरमा थोकमा समेत बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
बेतबाँसबाट बनाइएका सामानमा सबैभन्दा कम मूल्य चुरा राख्ने स्ट्यान्डको छ । जसको मूल्य रु २५० छ भने सबैभन्दा बढी सोफा सेटको रु १६ हजार मूल्य पर्दछ ।
समूहमा पाँच जना महिलाले मिलेर काम गरिरहेका छन् । हरेक महिना बिक्री गरेका सामानको हिसाब गरेर सबैले दामासाहीका हिसाबले भाग लगाउने गरेको र सबैलाई मासिक रु ३० हजारसम्म पर्ने गरेको उनीहरुले बताए ।
एक क्विन्टल बेतलाई रु दुई हजार ५०० मूल्य पर्ने र त्यसबाट सामग्री बनाएर बेच्दा कम्तीमा रु २५ हजार मूल्यका सामग्री बन्ने गरेको पनि उनीहरुले जानकारी दिए ।
केही समय पहिलेसम्म कैलालीको सत्तिमा रहेको सत्ति कर्णाली सामुदायिक वनमा सजिलैसँग बेत पाइन्थ्यो भने काम गर्न पनि सजिलो हुन्थ्यो । तर केही समययता बेत पाउन त्यति सजिलो नभएकाले काम गर्न समस्या भएको समूहकी सदस्य रमा चौधरीले बताउनुभयो ।
पहिला सामुदायिक वन आफैँले बेत बिक्री गर्ने भएकाले आफूहरुलाई किनेर ल्याउन सजिलो हुने गरेको र अहिले सामुदायिक वनले ठेक्कामा दिएपछि आफूहरुले नपाउने गरेको उहाँले बताउनुभयो ।
आफूहरुसँग ठूलो परिमाणमा बेत किन्न क्षमता नभएको र थोरै परिमाणमा ठेकेदारले बेत नदिँदा कच्चा पदार्थको अभाव भइरहेको उनीहरुको भनाइ छ ।

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...