चौँरीगाईको दूध बेचेर लखपति बन्दै

रसुवा, ११ जेठ । चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् ।

चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । हिमाली क्षेत्रको पहिचानका रुपमा पालिने चौँरीगाइले यहाँका किसानलाई आर्थिक रुपमा बलियो मात्रै बनाएको छैन, गाउँमा केही प्रगती हुँदैन भन्दै विदेशीने युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने शिक्षा दिएको छ ।

गत्लाङका रामबहादुर तामाङले २० वटा चौँरीगाई पाल्नुभएको छ भने सात वटाले दूध दिन्छन । बिहानबेलुका दुग्ध विकास संस्थानले खोलेको चिज उत्पादन केन्द्रमा दूध बिक्री गर्नुहुन्छ । उहाँले चौँरीगाईको दूध बिक्री गरी घरमै रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ ।

“साउनमा १३ वटा चौँरीगाई ब्याउँछ, त्यसपछि अहिलेको भन्दा आम्दानी बढ्छ,” उहाँले भन्नुभयो । तर चौँरीगाईलाई खुवाउन दाना र नुनको तामाङलाई सँधै समस्या परिरहन्छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पानी न्यून मात्रामा परेपछि यसपाली घाँसको पनि समस्या भएको छ । गत्लाङको पठारमा चौरी धपाउँदै तामाङले भन्नुभया– “हामीजस्ता हिमाली भेगका किसानलाई सरकारले केही सहुलियतको व्यवस्था गर्नुपर्छ ।”

यस्तै गत्लाङकै साइली तामाङसित पनि १६ वटा चौँरीगाई छन् । तीमध्ये ६ वटाले अहिले दूध दिन्छन् । घरमै बसेर मनग्य आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । दुग्ध संस्थानले स्थापना गरेको चिज उत्पादन केन्द्रका कारण दूध बिक्री गर्न सहज भएको तामाङ बताउनुहुन्छ ।

“चौँरीगाईले दूध दिने समयमा मासिक रु दुई लाखसम्म कमाई हुन्छ,” उहाँले भन्नुभयो– “सहरमा बस्नेलाई मात्रै होइन, हामीजस्ता किसानलाई पनि सरकारले हेर्नुप¥यो ।” स्थानीय नुमा गेल्मु तामाङ चौँरीगाई नै आफूहरुको आर्थिक उपार्जनको आधार भएको बताउनुहुन्छ ।

‘भूकम्पका कारण समस्यामा चिज उत्पादन केन्द्र’

चिज उत्पादन केन्द्रका धनबहादुर जिरेल साउन, भदौ, असोज, कात्तिक र मङ्सिरसम्म किसानले उल्लेख्य मात्रामा दूध ल्याउने गरेका कारण आफूहरुलाई चिज उत्पादन गर्न सहज भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “किसान अत्यन्तै उत्साहित छन्, चौँरीगाईपालन यहाँको परम्परागत पेसा हो । यसलाई आधुनिकीकरण गरेर आर्थिक उर्पाजनमा लगाउनुपर्छ ।” वार्षिक नौ हजार किलो चिज उत्पादन गर्ने केन्द्रले तीन हजार १०० किलो घीउ उत्पादन गर्छ । उत्पादन केन्द्रमा नै प्रतिकिलो रु एक हजार १०० मा बिक्री हुने चिजको बजार ठूलो रहेपनि मागअनुसार उत्पादन गर्न नसक्दा माग धान्न गाह्रो परेको जिरेलको भनाइ छ । केन्द्रमा उत्पादित चिज दुग्ध विकास संस्थानमा जाने गरेको छ ।

केन्द्रका अर्का कर्मचारी तेजबहादुर खड्का स्थानीय किसानको आम्दानीको स्रोतका रुपमा स्थापित केन्द्रलाई विस्तार गर्न सके अझै राम्रो हुने बताउनुहुन्छ । भदौ लागेपछि केन्द्रमा १५ जना भन्दा बढी कर्मचारी रहने गरेको भए पनि हाल न्यून मात्रामा चिज उत्पादन हुँदा चारजना मात्रै रहने गरेका छन् ।

केन्द्रले किसानलाई चौँरीगाई पाल्ने आधुनिक सीपसमेत सिकाएको छ । तर गत सालको गोरखा भूकम्पका कारण भत्किएको केन्द्रको भवन पुनःनिर्माण गर्न हालसम्म पहल हुन सकेको छैन । विसं २०३४ मा स्थापित सो चिज उत्पादन केन्द्रको आधुनिक भवन बनाउन सरकारले ध्यान दिनुपर्ने प्रमुख जिरेल बताउनुहुन्छ । भवनको अभावमा कर्मचारी सामान्य टहरामा बसेर रात काट्ने गरेका छन् ।

“किसानले जता चाँैरी लैजान्छन्, उतै कर्मचारी जाने गरेका छाँै” एक कर्मचारीले भन्नुभयो । तर परम्परागत चाँैरी पालनलाई आधुनिकीकरण गर्दै चिज उत्पादन केन्द्रलाई सुविधा सम्पन्न बनाउन सके हिमाली क्षेत्रका किसानको मुहार अझै उज्यालो हुने देखिन्छ । रमेश लम्साल÷ ज्ञानेन्द्र न्यौपाने/रासस

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...