कोदो एक, फाइदा अनेक

kodoकोदोलाई कु–अन्न भनेर चिनिन्छ । व्राम्हण समुदायमा धार्मिक कार्यमा प्रयोग नहुने भएपनि गुरुङ, मगर, तामाङ, राई, लिम्बु लगायतका जनजाति समूदायको धार्मिक काममा भने कोदोको परिकार नभै हुन्न ।

तर अहिले कोदोलाई जाति विशेषको मानिँदैन । शहरीकरणसँगै मान्छेमा पलाएको अल्छिपनाले रोग निम्तिरहेको छ । त्यस्ता मान्छेको अचुक औषधि बनेको छ कोदो । गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहरबजारतिर खोजी खोजी खान थालिएको छ ।

अफ्रिकाबाट आईपुग्यो

दक्षिण अफ्रिकामा उत्पत्ति भएको कोदो भारतको हिमाञ्चल र आल्मुडा हुँदै नेपालको मध्यपहाडी भागमा भित्रियो । अहिले त देशका सबैजसो भागमा कोदो खेति विस्तार भैसकेको छ । एक हजारदेखि एक हजार आठ सय मिटर उचाईसम्म कोदो राम्रो फल्छ ।

उच्च पहाडमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिन्छ । कृषि वैज्ञानिकहरुले काभ्रे कोदो १, डल्ले र मुड्के जातलाई मात्र सिफारिस गरेका छन् । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।

सबैतिर उत्पादन नहुनेहुँदा धेरैले डल्ले जातको कोदोलाई त्यसपछिको स्वादिलो रुपमा लिएका छन् । घरेलु रुपमा मदिरा बनाउँदा पनि मुड्के र डल्ले जातकै कोदो खोजिन्छ ।

सम्धी झुक्याउने कोदो

उच्च पहाड र मध्य पहाडको माथिल्लो क्षेत्रमा धान उत्पादन नहुँदा चामलको विकल्पको रुपमा कोदो खाईन्थ्यो । तर घरमा सम्धी पाहुना लाग्न आउँदा भातै खुवाउनु पर्ने भएकाले सेतो कोदोको भात खुवाईन्थ्यो ।

सिलामभन्दा पनि सेता दाना कोदो संकलन गरि पाहुना लाग्न आएका बेला मात्र पकाईन्थ्यो । सम्धीलाई चामलको भात भनेर कोदोको भात झुक्याएर खुवाईएकोले यसलाई सम्दी कोदो भनिन थालिएको विश्वास छ । यो कोदोको पिठो चामलको जस्तै हुन्छ । कतै कतै यसलाई ज्वाईँ कोदो पनि भनिन्छ ।

कोदो एक, परिकार अनेक

परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्छ । अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र खानेदर बढ्दै गएको छ ।
कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी परिकार पनि बन्न थालिसकेका छन् । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ ।

जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढीजसो परिकार जाडो याममैं खाईन्छ ।

मंगोलियन जातिले घरमैं कोदोको रक्सी बनाउने चलन छ । कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

बच्चाको लागि सबैभन्दा उत्तम

स्वास्थ्य विशेषज्ञहरुले कोदोलाई वालवालिकाको सबैभन्दा उत्तम खाद्यान्न प्रमाणित गरेका छन् । कोदोको परिकार खाएका वालवालिकाको दिमागको विकास तीव्र गतिमा हुन्छ । हड्डी मजबुत बनाउने र शरीरको संरचना विकासमा कोदोको परिकारले राम्रो भुमिका खेल्छ ।

औषधी पनि हो कोदो

जाडोमा कोदोको खोलेले वृद्धवृद्धालाई फाईदा गर्छ । पेट आडिलो हुनुका साथै पेट र आन्द्रालाई सफा गर्छ । उच्चरक्तचाप र मधुमेहका विरामीले नियमित खानाले सञ्चो हुँदै जान्छ । चिल्लो नहालिकन बनाईएको कोदोको खोलेले घाँटीको टनसिल वा खटिरा निको पार्छ ।

पुरानो घाउ वा एलर्जीले सताएमा पनि कोदोको लेप लगाउनाले ठिक हुने गर्छ ।

(पहाडीबाली विशेषज्ञ ढुण्डिराज शर्मासँग गरिएको कुराकानीमा आधारित ।) विनोद चौलागाईं/ उज्यालो

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...